बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावका कारण हिजोदेखि देशकाे विभिन्न स्थानमा वर्षा भइरहेकाे छ । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै चक्रवात ‘अर्नब’को प्रभाव रहेकाले देशका केहि भागमा भारी वर्षासँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ भने कोशी र बागमती प्रदेशका पहाडी तथा तराई तथा मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो अधिकांश स्थानमा बादल लाग्ने तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने बताइएकाे छ ।
त्यसैगरि कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि वर्षा हुनुका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हुरी चल्ने सम्भावना रहेकाे छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षासँगै हिमपातको सम्भावना पनि महाशाखाले जनाएकाे छ ।
आज राति देशका अधिकांश स्थानमा बादल लाग्नुका साथै मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेकाे छ भने केही स्थानमा भारी वर्षा तथा हिमपात हुने महाशाखाको अनुमान रहेकाे छ । त्यस्तै महाशाखाले आज र भोलि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा अति भारी वर्षा र हिमपात हुनसक्ने जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा पनि भारी वर्षा र हिमपातको सम्भावना छ ।
महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान अनुरोध गरेको छ । वर्षासँगै चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान र सडक छेउमा पहिरो खस्ने भएकाले सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ ।