Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

यो वर्षको हिउँद पनि सुख्खा हुने, थपियो चुनौती

- shuvadmin / बुधबार, पुष २४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, लगातार दुई वर्षको हिउँद सुख्खा भए जस्तै यो वर्षको हिउँद पनि पानी नपरी सुख्खा नै हुने अनुमान गरिएको छ ।

नेपालको मौसमी पात्रोमा मङ्सिर १५ देखि फागुन १५ सम्मको अवधिलाई हिउँदयाम भन्ने चलन छ ।

गएका दुई वर्षको हिउँद उल्लेख्य वर्षा नभई सकिएका थिए । यो वर्षको हिउँदको मध्यतिर आइपुग्दा पनि वर्षाको कुनै सम्भावना छैन ।

नेपालको उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा छिटफुट हिमपात भए पनि महाभारत, चुरे र तराईमा वर्षा हुन सकेको छैन् । नेपालमा हुने वर्षाको ८ देखि १० प्रतिशत वर्षा हिउँद याममा हुने बताइन्छ ।

यस्तै अङ्ग्रेजी महिनाको जनवरीमा ६० मिलिमिटर वर्षा हुनुपर्छ भन्ने मत मौसमविद्हरुको छ ।

विगत वर्षको अनुभव र यो वर्षको अनुमानले जनवरीमा वर्षा हुने सम्भावना कम छ, भयो भने पनि ६० मिलिमिटरभन्दा कम हुने अनुमान छ ।

जलवायुविद् डा. धर्मराज उप्रेतीले यो हिउँदमा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत अनुमान गरिएको बताएका छन् ।

नेपालको हिउँद यामको वर्षा अरब सागरमा बन्ने जलचक्रीय प्रणाली र पश्चिमी वायुमा बढी निर्भर छ । यी दुवै प्रणालीमा पानी पार्ने जलयुक्त वाष्पको कमीले वर्षा हुन सकेको छैन ।

हिउँदे वर्षाको महत्त्व

नेपालमा हिउँदे वर्षाको निकै महत्त्व छ । हिमालय क्षेत्रमा उद्गम भएर बग्ने नदीको पानीको मुख्य स्रोत नै हिउँदे वर्षासँगै हुने हिमपात हो ।

नेपालमा हिउँदको वर्षाले हिमाल र जमिनमा पानीको पुनःभरणको काम गर्छ । हिमालमा हिउँको रुपमा र हिउँ नपर्ने स्थानमा पानी जमी भित्र गइ जम्मा हुन्छ ।

यो नै पछि गएर मुलको रुपमा बाहिर आउछ । हिउँदमा पानी नपरे वर्षायाममा घटेको जलसतहमा पुनःभरण हुन पाउँदैन जसको असर वर्षायाममा मूल फुट्न समय लाग्ने साथै कतिपय स्थानमा मूल फुट्न नै नसक्ने हुन्छ ।

अर्कोतर्फ हिउँदे वर्षा नहुँदा वन डढेलो र आगलागीको घटना बढेर जान्छ । आगलागीले जनधनको क्षतिसँगै वायु प्रदूषण बढाउँछ ।

प्रदूषणको घनत्व जति बढी हुन्छ त्यति सुख्खा र पानी कम पर्ने सम्भावना बढेर जान्छ । ‘‘हिउँदे वर्षा कम हुँदा सुख्खा र खडेरीको अवस्था आउँछ । आगलागीका घटनाहरु बढी हुन्छन् ।

आगलागीका घटनाहरु बढी भयो भने वन, जङ्गलमा हुने पारिस्थितिक प्रणाली बिग्रन्छ । प्रदूषणमा वृद्धि हुन्छ ।

काठमाडौं जस्तो चारैतिरबाट ठूला पहाडले घेरिएको ठाउँमा धुवाँ धुलोको मात्रा बढ्छ ।,’’ जलवायुविद् डा. उप्रेतीले भने, ‘‘तर त्यसलाई बाहिर पठाउनका लागि कि त वर्षा हुनुपर्छ कि त ठूलो हावा चल्नुपर्छ ।

त्यस्तो भएन भने लामो समयसम्म कामठमाडौं प्रदूषित शहर भएर बस्छ । आज नै १५० देखि १८० इन्डेक्स हाराहारीमा प्रदूषणको अवस्था छ ।

जुन निकै हानिकारक हो । समग्रमा वर्षाको असर कृषि, वन, प्रदूषण, आगलागीलगायतका कुराहरुमा हुने भएको हुनाले हामीले सचेत हुन जरुरी छ ।’’

नेपाली आकाशमा रहेको प्रदूषित हावालाई पश्चिमी वायुले विस्थापित नगरेसम्म पानी पर्ने सम्भावना रहँदैन् ।

पछिल्ला केही वर्ष यता पृथ्वीको तापक्रममा वृद्धि हुनु र हिउँदे वर्षा गराउने स्रोतमा आएको सुख्खापनले पश्चिमी वायुको प्रभाव कमजोर बनिरहेको छ । त्यसमाथि वायु प्रदूषणले पश्चिमी वायुलाई तल्लो सतहसम्म आउन दिएको छैन ।

हिउँदे वर्षा र कृषि

हिउँदमा पानी नपरे नेपालको कृषि प्रणाली, जलवायु चक्र र अर्थ प्रणालीमा प्रत्यक्ष र गहिरो अशर गर्ने देखिएको छ ।

गहुँ, जौ, तोरी, केराउ जस्ता बाली हिउँदे वर्षामै निर्भर हुन्छन् । वर्षा नहुँदा खेत, बारीमा छरेको अन्न नै उम्रन सक्दैन् ।

आवश्यक चिस्यानको कमीले बीउ अङ्कुरित हुन सक्दैन । ढिलो गरी उम्रे पनि यसले अपेक्षाअनुसारको उत्पादन दिन सक्दैन् ।

जसले खाद्य सङ्कट निम्त्याउँछ । नेपालमा धान मकैपछिको प्रमुख बाली गहुँ हो जुन पूर्णरुपमा हिउँदे वर्षामा निर्भर रहन्छ ।

सतही सिँचाइभन्दा पनि आकाशे पानीको प्रभाव धेरै राम्रो र उत्पादक मानिन्छ ।

जलवायुविद् डा.उप्रेतीले सरकारका प्रमुख दुई निकाय जल तथा मौसमविज्ञान विभागले कम पानी पर्ने प्रक्षेपण गरेको अवस्था र कृषि मन्त्रालयले हिउँदे बालीमा कम उत्पादन हुन्छ भनेको अवस्थामा पनि सरकारको पूर्वतयारी नहुनु विडम्बना भएको टिप्पणी गरेका छन् ।

पूर्वानुमानअनुसारको पूर्वतयारी नगर्दा आइपर्ने सङ्कट व्यवस्थापन गर्न नसकिने खालको हुने उनको भनाइ छ ।

हिउँदमा लगातार सुख्खा र खडेरी परिरहँदा यसको असर समग्र खाद्यचक्र र मूल्यवृद्धिले अर्थ व्यवस्थामा दबाब परिरहेको छ ।

कृषिमा आश्रित हुने जनसमुदाय अझ आफूले खानका लागि मात्र उत्पादन गर्ने किसानलाई चाहिँ हिउँदे जलवायुमा आएको परिवर्तनले सबैभन्दा मारमा पर्नेछन् ।

यसले भोकमरी, गरिबी र अनियन्त्रित बसाइँसराइलाई बढाइरहेको छ । केही वर्ष यता जलवायु परिवर्तनले मौसमी पात्रोमा फेरबदल आएको छ ।

हिउँदे वर्षा हराउँदै गएको छ भने पहिला जुन रुपमा जुन ठाउँसम्म हिउँ पर्थ्यो अहिले त्यहाँ पानी पर्न थालेको छ ।

हिउँ पर्ने रेखा माथि सरेको छ । यसको अर्थ हिउँ पर्ने उचाइ (अल्टिच्युट) नै परिवर्तन भएको छ ।

हिउँदे वर्षा र मानव स्वास्थ्य

हिउँदे वर्षा नहुँदा मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्छ । मानिसले दैनिक प्रयोग गर्ने पानीको उपलब्धतामा कमी आउँछ भने उपलब्ध भएको पानीको गुणस्तर पनि नहुने हुन्छ ।

जसले प्रदूषित पानी र प्रदूषित पर्यावरणले जनस्वास्थ्यमा सिधा नकारात्मक असर गर्दछ । जलवायुविद् डां. उप्रेतीले हिउँदे वर्षा नहुँदा खाने पानीमा असर हुने बताए ।

पानी पर्ने तौरतरिकामा परिवर्तन हुने बित्तिकै त्यसको सिधा असर पानीको गुणस्तर र परिणाममा समेत पर्ने भएको हुनाले पानीका स्रोत संरक्षणका लागि सरकारले तदारुकताको साथ काम गर्नुपर्ने जानकारी दिए ।

पानीको उपलब्धताको कमी हुनु, गुणस्तरीय नहुनु, वातावरण प्रदूषित नै रही रहनु, जमिनभन्दा नजिकै रहने धुलोको कण मिश्रित वायुले लामो समय चिसो र सुख्खा बढाउने भएकाले जनस्वास्थ्य जोखिमपूर्ण बन्ने सम्भावना छ ।

अस्पताल र स्वास्थ्य संस्थामा जोखिम मूल्याङ्कन गरेर आवश्यक पूर्वतयारी गर्नुपर्ने आवश्यक छ । यस समयमा फैलनसक्ने सङ्क्रामक रोगविरुद्ध लड्न सरकारले पूर्णकालीन योजना नै बनाएर लागू गर्नुपर्दछ ।

सबै प्रकारका मौसमजन्य विपद्को अलग(अलग अनुकूलनको कार्यक्रम

नेपालको जलवायु र मौसममा आइरहेको अस्वाभाविक परिवर्तन अनुकूलको कार्ययोजना बनाउन आवश्यक छ ।

नेपालमा केही वर्ष यता मौसमजन्य विपदका घटना बढिरहेको सन्दर्भमा सबै मौसमको लागि अनुकूलनको योजना आवश्यक छ ।

सबै प्रकारका मौसमजन्य विपदका घटना बाहिर आइसकेको अवस्थामा एउटा मात्र ९मनसुन र गर्मी० मौसमका लागि अनुकूलनको कार्यक्रम सञ्चालन गरेर हँदैन् ।

जलवायुविद् डा. उप्रेतीले चिसोमा हुने अनुकूलन कार्यक्रम र बढी गर्मी तातो भएमा लागू गर्ने अनुकूलनको कार्यक्रम फरक हुने बताए ।

बाढीको अनुकूलनको अवस्था एउटा हुन्छ भने पहिरोको अनुकूलनको अवस्था अर्को हुन्छ ।

प्रत्येक प्रकोप र विपद्ले निम्त्याउने हानी नोक्सानी फरक फरक हुने भएकाले फरक तरिकाले नै त्यसलाई अवलम्बन गर्नुपर्छ ।

हामीले बनाएको राष्ट्रिय अनुकूलन कार्यक्रम र योजनामा सबै प्रकारका जलवायु जन्य विपद्का अलग अलग अनुकूलनको कार्यक्रम राख्न ढिलो गर्नुहुन्न ।

प्रत्येक प्रकोपले निम्त्याएको हानि नोक्सानी फरक(फरक आयतन र विशेषताको छ । हामीले बनाउने पूर्वतयारी र अनुकूलनको योजना त्यसै अनुसारको बनाउनुपर्नेछ ।

सीमित स्रोत साधन भएको र कमजोर आर्थिक अवस्थामा यसका कार्यक्रम बनाएर लागू गर्नु चुनौतीपूर्ण छ ।

तर, यो बाध्यात्मक अवस्था हाम्रा अगाडि छ । चुनौतिविरुद्ध लड्न सरकारी तथा गैरसरकारी सबैको साझेदारी आवश्यक छ ।

मौसमबारे पूर्वसूचनाको व्यापकता आजको आवश्यकता

हामीले मौसम बारेको पूर्वसूचनाको व्यापकतामा काम गर्नुपर्ने छ । नेपाल धेरै प्रकारको विपद्को जोखिममा छ ।

विपद्लाई रोक्न सकिन्न तर सम्भावित जोखिम र अनपेक्षित हानिनोक्सानी कम गराउन सकिन्छ । अहिले वर्षा हुन नसक्दा सुख्खापन गहिरिँदै गएको छ ।

सँगै वायु प्रदूषणको मात्रा बढेको छ । यस्तो अवस्थामा दैनिक जीवन र प्राथमिकता फरक गर्न सक्नुपर्छ ।

व्यक्तिगत रुपमा सकेसम्म घर बाहिर ननिस्कने, निस्के पनि शरीरको धेरै भाग ढाकिने कपडा लगाएर निस्कने, मास्क लगाएर निस्कने गरेर व्यवहारमा परिवर्तन गर्न सकिन्छ ।

यो सबै पूर्वसूचनामा आधारित भएर सम्पादन गर्न सकिन्छ । पूर्वसूचनामा वायु प्रदूषण बढेको छ भन्ने पाइयो भने, सार्वजनिक गाडी प्रयोग गर्ने, पेट्रोल खपत हुने सवारी साधनको सञ्चालनमा नियन्त्रण गर्ने, स्कुल र कलेजको अध्यापन सञ्चालन अवधि छोट्याउने जस्ता कार्य गर्न सकिन्छ जसले जोखिम र हानि, नोक्सानी कम गर्न सकिन्छ ।

दैनिक मौसम जानकारी सुविधाको कुरा मात्र होइन तर सार्वजनिक जीवन, स्वास्थ्य, सुरक्षा, र आर्थिक स्थिरताको रक्षा गर्न एक महत्त्वपूर्ण कारक पनि हो ।

समयमै र सही पूर्वानुमान प्रदान गरेर, मौसम जानकारीले व्यक्तिहरू, समुदायहरू र सरकारहरूलाई सूचित गरी निर्णयहरू लिन सक्षम बनाउँछ ।

हामी अहिले हिउँदे याममा छौँ । हिउँदे जलवायु पनि नेपालका लागि महत्त्वपूर्ण मानिन्छ ।

तर, पछिल्लो केही वर्ष यता प्रक्षेपण गरिएअनुसार हिउँद याम कष्टकर, कम उत्पादकत्व, खडेरी र जनजीवन प्रभावित पार्ने खालको रहँदै आएको छ ।

Page Views: 59
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama