Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मार्खु चित्लाङ पर्यटकीय सडकका ठेकदार भेट्न मुस्किल, पछिल्लो ४ महिनामा ३ पटक बैठक, ५ वटा पत्र काटियो

- shuvadmin / शनिबार, चैत ०१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

मकवानपुर, बागमती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको पर्यटकीय सडकको काम अत्यन्त सुस्त देखिएको छ ।

निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पर्यटकीय सडक (कलंकी–मार्खु–सिम्लाङ–विसिंखेल खोला) सडक निर्माणको गति सुस्त देखिएको हो ।

ठेक्का सम्झौता अनुसार निर्माणको समयसीमा सकिन लाग्दैगर्दा सो सडकको भौतिक प्रगति २५ प्रतिशत पनि हुन सकेको छैन् ।

२ वर्षमा काम सक्ने गरी सम्झौता गरेका ठेकदारले समयमै काम नगर्दा स्थानीय तथा व्यवसायी मर्कामा परिरहेका छन् ।

सडक निर्माण अलपत्र हुँदा मकवानपुरको पर्यटकीय क्षेत्रको रूपमा रहेको कुलेखानी, मार्खु, चित्लाङ, बज्रबाराही तथा दामन–पालुङ क्षेत्रमा पर्यटकको आवागमनमा समेत समस्या पुगिरहेको छ ।

ठेकदारले सडक भत्काएर अलपत्र बनाएपछि सो क्षेत्रमा जान चाहने पर्यटकलाई सास्ती हुने गरेको छ भने व्यापार–व्यवसाय पनि चल्न सकेका छैनन् ।

स्थानीय राजकिशोर कार्की सिम्लाङमा हार्डवेयर व्यवसाय गर्छन् । सडकको अवस्था राम्रो नहुँदा पछिल्लो समय सो क्षेत्रमा पर्यटकको संख्या कम भएको उनले बताए ।

सडक भत्काएर अलपत्र छाड्दा धुलो–धुवाँका कारण बसोबास गर्न पनि कठिन भएको उनको भनाइ छ ।

धुलो उडेर हैरान भएपछि आफूहरूले नै ट्याङ्करबाट पानी हाल्ने काम गरिरहेको उनको भनाइ छ ।

स्थानीय बिमला बलामीका अनुसार सडक निर्माणको काम समयमा नसक्दा धुलो उडेर हैरान पार्ने गरेको छ ।

जसका कारण रुघाखोकी लाग्ने, श्वासप्रश्वासका बिरामी बढ्ने गरेको उनको भनाइ छ ।

सडक निर्माण समयमा नहुँदा आवतजावतमा कठिन भएको र व्यापार व्यवसाय पनि चल्न नसकेको बलामीले बताइन् ।

विगतको तुलनामा सो क्षेत्रमा पर्यटक पनि कम आउने गरेको र होटल व्यवसाय निकै कम मात्रामा चलेको उनले बताइन् ।

पर्यटकीय रुटको रूपमा विकास गर्ने गरी कुलेखानी–मार्खु–चित्लाङसम्मको सडक स्तरोन्नतिसहित कालोपत्रे गर्नेगरी २०८० असारमा बागमती प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो ।

उक्त योजनाका लागि प्रदेश सरकारले ४९ करोड रुपैयाँ लागत अनुमानसहित तत्कालीन पूर्वाधार विकास कार्यालय चितवनमार्फत् ठेक्का आह्वान गरेको थियो ।

घटाघट विधिमार्फत् ठेक्का आह्वान गरिएको उक्त योजनाको जिम्मा लामा आइएस आरआर जेभी काठमाडौँले पाएको थियो ।

२०८० असार १९ मा ठेक्का सम्झौता गरेको कम्पनीले हालसम्म सडक चौडा पार्ने कामबाहेक केही गरेको छैन ।

हाल पूर्वाधार विकास कार्यालय मकवानपुर मार्फत् नियमन तथा अनुगमन भइरहेको ८.६ किलोमिटर लम्बाइको उक्त सडक स्तरोन्नतिसहित चौडा पार्ने र कालोपत्रे गर्नेसम्मको कामका लागि ३५ करोड २८ लाख ६२ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।

२०८२ असार १८ गतेसम्म काम सक्ने गरी ठेक्का लिएको सो कम्पनीका ठेकदारले हालसम्म करिब २५ प्रतिशत भौतिक प्रगति देखाएका छन् ।

चालू आर्थिक वर्षमा १२ करोड रुपैयाँ बजेट विनियोजन भएको उक्त सडकको हालसम्म वित्तीय प्रगति २२ प्रतिशत देखिएको छ ।

ठेकदार भेट्न मुस्किल

सो सडक निर्माणको जिम्मा लिएको कम्पनीलाई सम्पर्कमा ल्याउन र काम गराउन निकै कठिन रहेको पूर्वाधार विकास कार्यालय मकवानपुरले जनाएको छ ।

सडक निर्माणका स्थानीयस्तरमा कुनै समस्या नहुँदा समेत निर्माण कम्पनीले हालसम्म कार्ययोजना अनुसार काम नगरेको कार्यालयका प्रमुख सुजन भण्डारीले जानकारी दिए ।

पटकपटक छलफल र वार्ता गर्दा पनि निर्माण कम्पनीले काम नगरेको उनको भनाइ छ । ‘यस ठेक्कामा काम गर्न मलाई पनि निकै कठिन भइरहेको छ ।

निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याएर छलफल र वार्ता गर्दा पनि काम हुन सकेको छैन,’ उनले भने, ‘स्थानीयस्तरमा सो सडकमा कुनै समस्या छैन् ।

प्रदेशको सो आयोजनामा डम्पिङ साइटको पनि व्यवस्था गरिएको छ ।’

अब ४ महिनामा सो ठेक्काको काम सक्नुपर्ने अवस्था रहे पनि अहिलेसम्म नाला बनाउने कामसम्म हुन नसकेको भण्डारीले बताए ।

उनका अनुसार निर्माण कम्पनीले ३५ करोडको ठेक्कामा ३५ जना कामदार राखेर काम गरिरहेको छ ।

निर्माण कार्य समयमै सक्न आफूले निरन्तर छलफल तथा अनुगमन गरिरहेको भण्डारीले बताए ।

निर्माण कम्पनीलाई काम छिटो गर्न दबाब बढाइरहेको उनको भनाइ छ ।

सो ठेक्काको काम समयमै सक्न कार्यालयले पछिल्लो ४ महिनामा मात्र ३ पटक छलफल गरेको छ भने ५ भन्दा बढी पटक पत्र काटेको छ ।

गत असोजमा गठित उक्त कार्यालयले पूर्वाधार विकास कार्यालय चितवनको फाइल ल्याएर सडक निर्माणको कामलाई तीव्र बनाउन निर्माण कम्पनीलाई दबाब दिइरहेको कार्यालय प्रमुख भण्डारीले बताए ।

काम समयमै सक्न कार्यालयले ३ पटक निर्माण व्यवसायीसँग बैठक बसेर निर्णयसमेत गरेको उनको भनाइ छ ।

हालकै अवस्थामा सो ठेक्काको काम निर्धारित अवधिभित्र ५० प्रतिशत पनि पुग्ने अवस्था नरहेको भण्डारीले प्रस्ट पारे ।

यद्यपि कार्यालयको निरन्तरको प्रयासपछि चैत पहिलो साताबाट निर्माण सामग्री र जनशक्ति थप गरेर काम गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको उनको भनाइ छ ।

यातायात पूर्वाधार निर्देशनालयमा निर्देशकको उपस्थितिमा २ र कार्यालयमा एक पटक सो सडक निर्माणको विषयमा छलफल भएको भण्डारीले बताए ।

गत कात्तिक, पुसमा निर्देशकको उपस्थितिमा भएको छलफलमा समयमै सक्न निर्देशन दिइएको उनले बताए । माघ महिनामा पनि बैठक बसेको उनको भनाइ छ ।

सो बाहेक कार्यालयले निर्माण व्यवसायीलाई ५ पटक पत्राचार गरेको भण्डारीले जानकारी दिए । पछिल्लो ४ महिनामा गरिएका अनुगमनबाट पत्र काटिएको उनको भनाइ छ ।

बैठक र पत्राचार गर्दा पनि निर्माण कम्पनीले उचित नतिजा दिनेगरी काम गर्न नसकेको उनले बताए ।

हालकै अवस्थामा सो ठेक्काको काम निर्धारित अवधिभित्र ५० प्रतिशत पनि पुग्ने अवस्था नरहेको भण्डारीले प्रस्ट पारे ।

यद्यपि कार्यालयको निरन्तरको प्रयासपछि चैत पहिलो साताबाट निर्माण सामग्री र जनशक्ति थप गरेर काम गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको उनको भनाइ छ ।

निर्माण कम्पनीले क्रसर स्थापनाको काम गरिरहेको र क्रसर सञ्चालन भएपछि कामले तीव्रता पाउने जनाएको भण्डारी बताउँछन् ।

सो ठेक्कामा चालू आर्थिक वर्षमा नाला निर्माण, बेस तथा ग्राभेल गर्ने काम सक्ने लक्ष्य रहेको उनले बताए ।

ठेक्काको अनुगमन तथा मूल्याङ्कनसहित म्याद थपको बारेमा निर्णय गर्ने र आगामी आर्थिक वर्षमा कालोपत्रे गर्नेगरी कार्यालयले योजना तयार गरेको प्रमुख भण्डारीले बताए ।

Page Views: 121
संबन्धित शिर्षकहरु
विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama