काठमाण्डू, नेपाली राष्ट्रिय क्रिकेट टोलीको युएई यात्रा प्रक्रिया लम्बिएको छ।
विश्व विजेता टोली वेस्ट इन्डिजविरुद्ध ३ खेलको टी–२० सिरिज खेल्न युएई जान लागेको नेपाली टोलीलाई युएईले भिषा ‘इस्यु’ नगर्दा प्रक्रिया लम्बिएको क्यान प्रवक्ता छुम्बी लामाले जानकारी दिए।
आज बिहान ९ बजेको युएईको टिकट भएको भएपनि भिषा नआएपछि खेलाडीहरु जान पाएनन्।
नेपाल क्रिकेट संघ (क्यान) ले भिषाको सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको तर युएईले जेनजी आन्दोलनपछि नेपालीलाई भिषा रोकेकाले त्यसको असर क्रिकेट खेलाडीलाइ पनि परेको हो।
नेपालमा भएको जेनजी आन्दोलनपछिको राजनीतिक घटनाका कारण युएईले नेपालीलाई भिजिट तथा कामदार दुवै भिषा रद्द गरेको छ।
क्यान प्रवक्ता छुम्बी लामाले नेपालसँगै युएईको इमिरेट्स क्रिकेट बोर्ड तथा युएईको सरकार र आईसीसीसँग समेत क्रिकेट टिमको भिषाको विषयमा कुरा भइरहेकाले चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गरे।
उनले भने, ‘भिषा रद्द भएको होइन, इस्यु नै नभएको हो। नेपालमा भएको पछिल्लो घटनाक्रमले समग्र नेपालीलाई नै भिषा रोकेकाले नेपाली खेलाडी पनि त्यसको मारमा परेका हुन्।
तर, हामीले सबै पक्षबाट प्रयास गरिरहेकाले भिषा आउने विश्वासमा छौँ।’ सिरिज युएईको सारजाह क्रिकेट स्टेडियममा असोज ११, १२ र १४ गते हुने कार्यतालिका रहेको छ।
क्यानले यसलाई युनिटी कप अन्तर्राष्ट्रिय टि–ट्वान्टी सिरिज नाम दिएको छ।
यसको तयारीको लागि नेपाली टोली एक साता अगाडी युएई जाने तयारीमा रहेको थियो। टोलीको बिदाइसमेत भइसकेको अवस्थामा भिषाका कारण खेलाडी रोकिनु परेको हो।
नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्रसँग कुनै पनि सिरिज खेल्न लागेको यो पहिलो पटक हो। यो सिरिज खेलेर नेपाल टि–ट्वान्टी विश्व कप छनोट खेल्न ओमान जाने तय भएको छ।
तर, युएईको भिषा प्रक्रिया लम्बिएसँगै द्वीपक्षीय सिरिज नै अन्योलमा पर्ने त होइन भन्ने शंका उब्जिएको छ।