काठमाण्डू, नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबीचको त्रिकोणात्मक महिला टी–२० सिरिज आजदेखि सुरु हुँदैछ । सिरिजको पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स आमनेसामने हुने छन् ।
यी दुई टिमबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार मध्यान्ह सवा १२ देखि सुरु हुनेछ ।

नेपाल–नेदरल्याण्डसको पहिलो भेट
नेपाली टिम महिला क्रिकेटमा पहिलोपटक नेदरल्याण्ड्ससँग खेल्न लागेको हो । नेपालसामु पहिलो भेटमै नेदरल्याण्ड्सलाई हराएर इतिहास रच्ने मौका छ ।
घरेलु मैदानमा खेल्न लागेकाले पनि नेपालले नेदरल्याण्ड्सलाई हराउने सम्भावना छ । यद्यपि नेदरल्याण्ड्सलाई हराउन नेपाललाई सहज हुने छैन ।
नेदरल्याण्ड्सले महिला क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएको छ । ऊ आइसिसी टी–२० आई वरीयतामा पनि नेपालभन्दा अगाडि छ ।
पछिल्लो टी–२० वरीयतामा नेदरल्याण्ड्स १६ औँ र नेपाल २० औँ स्थानमा छ । यदि यस सिरिजमा नेपालले राम्रो प्रदर्शन गर्न सके वरीयतामा पनि सुधार गर्नेछ । नेपाली महिला टिम ६ महिनापछि मैदानमा फर्किँदै छ ।

नेपालले पछिल्लोपटक गत जुनमा एसिया कप खेलेको थियो । उक्त प्रतियोगितामा नेपालले पहिलोपटक भारत र पाकिस्तानसँग खेल्यो, जहाँ नेपाल दुवै खेलमा पराजित भयो ।
त्यसपछि भने नेपालको महिला टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन ।
नेपाल अब सन् २०२५ मा नेदरल्याण्ड्सविरुद्ध जीत निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । त्यसका लागि नेपालले ब्याटिङ र फिल्डिङमा विशेष काम गर्नुपर्छ ।
विगतमा नेपाली महिला टिमले खराब फिल्डिङ र ब्याटिङका कारण जीत नजिक पुगेका धेरै खेल गुमाएको छ । यसपटक नेपालले ती गल्तीलाई सच्याउनुपर्छ ।
हालै प्रधानमन्त्री कप खेलेकाले खेलाडीले राम्रो अभ्यास पाएका छन् । धनगढीमा भएको यस प्रधानमन्त्री कपमा ममता चौधरी, कप्तान इन्दू बर्मा, मनीषा उपाध्याय र रेवती धामीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
गत शनिबार सम्पन्न उक्त प्रतियोगितामा ममताले ६ खेलमा सर्वाधिक २०९ रन बनाइन् ।
यस्तै, दोस्रो स्थानमा रहेकी इन्दूले ५ इनिङ्समा दुई अर्धशतकको सहयोगमा १ सय ७२ रन बनाइन् । बलिङमा मनीषा उपाध्यायले ५ खेलमा ३.०६ को इकोनमीमा सर्वाधिक १० विकेट लिइन् ।
प्रधानमन्त्री कप च्याम्पियन एपिएफ
यस्तै, दोस्रोमा रहेकी रेवती धामीले ६ इनिङ्समा ८ विकेट हात पारिन् । उच्च लयमा रहेका यी चारै खेलाडी त्रिकोणात्मक सिरिजका लागि नेपाली टिममा छन् ।
साथै, नेपाली यू–१९ टिमकी कप्तान पूजा महतो पनि राम्रो लयमा छिन् । उनले हालै मात्र आइसिसी यू–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिन् ।
पूजाले विश्वकपमा चार खेलमा ४.३४ को इकोनमीमा ९ विकेट लिइन् । उनी प्रतियोगितामा नेपालको तर्फबाट सर्वाधिक विकेट लिने बलर बनिन् ।
साथै, ब्याटिङमा पनि पूजाले ठीकठाक प्रदर्शन गरेकी थिइन् । उनी आफ्नो लय त्रिकोणात्मक सिरिजमा पनि जारी राखेर नेपाललाई जित दिलाउन पूरा कोसिस गर्ने छिन् ।

नेपालको सम्भावित प्लेइङ–११ : सीता राना मगर, सम्झना खड्का, ममता चौधरी, इन्दू बर्मा, कविता कुँवर, रुबिना क्षेत्री, बिन्दू रावल, पूजा महतो, कविता जोशी, रेवती धामी र मनीषा उपाध्याय ।