काठमाण्डू, महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा जितका लागि नेदरल्यान्ड्सले नेपाललाई एक सय ५८ रनको चुनौती पूर्ण लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार टस हारेर पहिले ब्यासिटङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ५७ रन बनायो ।
नेदरल्यान्ड्सका लागि रोविने रिजाकले अविजित अर्धशतकीय इनिङ्स खेलिन् ।
उनले ४८ बलमा आठ चौकाको सहयोगमा ५९ रन बनाइन् । यस्तै आईरिस जेविलिङले अविजित ३१ तथा स्टेरे केलिसले २९ र हिदर सिगर्सले २३ रन बनाए ।
बलिङमा नेपालका सिता रानामगर, इश्वरी विष्ट, पुजा महतो र कविता कुँवरले एक एक विकेट लिए ।
नेपालका लागि अलिशाकुमारी यादव तथा मनिषाकुमारी उपाध्यायको राष्ट्रिय टोलीमा डेब्यू गरेका छन् ।