काठमाण्डू, काठमाण्डूमा जारी त्रिकोणात्मक महिला टी–२० सिरिजमा नेपालले दोस्रो खेल थाइल्याण्डसँग खेल्दै छ ।
यी दुई टिमबीचको खेल शनिबार मध्यान्ह सवा १२ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।
श्रृंखलामा नेपाल पहिलो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध २० रनको पराजय बेहोरेको थियो ।
त्यस खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।
नेपाल थाइल्याण्डविरुद्ध ब्याटिङमा थप उत्कृष्ट प्रदर्शन गरेर जीतको खाता खोल्ने योजनामा हुनेछ ।
यद्यपि थाइल्याण्डविरुद्ध जीत निकाल्न नेपाललाई सहज हुने छैन् । जारी सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा थाइल्याण्डले नेदरल्याण्ड्सविरुद्ध ८ विकेटको फराकिलो जीत निकालेको छ ।
शुक्रबार भएको यस खेलमा नेदरल्याण्ड्सले दिएको १२३ रनको लक्ष्य थाइल्याण्डले १८ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
ऊ अब शनिबार नेपाललाई पनि हराएर महत्वपूर्ण २ अंक जोड्न चाहन्छ । थाइल्याण्ड अहिले २ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।
अंकविहीन नेपाल पुछारमा छ । तालिकाको शीर्ष स्थानमा रहने टिमले नै सिरिज जित्ने भएकाले नेपालका लागि शनिबारको खेल महत्वपूर्ण छ ।
हालसम्म थाइल्याण्डविरुद्धको हेड टु हेड हेर्दा नेपाल पछाडि छ । विगतमा नेपाल र थाइल्याण्डको महिला टिमबीच तीन खेलमा भेट भएको छ । नेपाल तीनवटै खेलमा पराजित भएको छ ।
यी दुई टिम पहिलोपटक सन् २०१९ मा आमनेसामने भएका थिए । त्यस विश्वकप क्वालिफायर खेलमा थाइल्याण्डविरुद्ध नेपाल ७० रनले स्तब्ध भयो ।
यस्तै, सोही प्रतियोगिताको अर्को खेलमा थाइल्याण्डसँग नेपाल ५७ रनले पराजित भयो ।
नेपालले थाइल्याण्डविरुद्ध तेस्रो खेल सन् २०२३ मा खेल्यो । त्यो खेल नेपालले ४६ रनले गुमायो ।
नेपालसामु शनिबार थाइल्याण्डविरुद्ध पहिलो जीत निकाल्ने मौका हुनेछ । थाइल्याण्डविरुद्ध नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ ।
शनिबार नेपालले विन्दू रावलको स्थानमा ममता चौधरीलाई मौका दिने सम्भावना रहेको हो ।
नेपालको सम्भावित प्लेइङ–११ : सीताराना मगर, सम्झना खड्का, ममता चौधरी, कविता कुँवर, इन्दू बर्मा, रुबिना क्षेत्री, पूजा महतो, कविता जोशी, अलिसा यादव, मनीषा उपाध्याय र ईश्वरी विष्ट ।