काठमाडौ, पोखरादेखि मुक्तिनाथसम्म यात्रुवाहक केबलकार निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकनसहितको विस्तृत अध्ययन प्रतिवेदन ( डिपीआर) तयार भएको छ ।
मुक्तिनाथ दर्शन प्रालिले बुधबार केबलकार निर्माणका लागि तयार गरिएको अध्यावधिक डिपीआर लगानी बोर्डमा बुझाएको छ ।
सो प्रतिवेदन अनुसार कास्कीको सेराबेसीबाट मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकै रानीपौवासम्म ८१.०१४ किलोमिटर केबलकार बन्नेछ ।
यदि यो केबलकार निर्माण भए नेपालमा मात्रै होइन, संसारकै सबैभन्दा लामो यात्रुवाहक केबलकार बन्नेछ ।
मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले संसारकै लामो केबलकारको नयाँ डिपीआर तयार गरी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई बुझाएको बताए ।
डिपीआरमा केबलकार निर्माणका लागि ५५ अर्ब १८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
जबकि साढे पाँच वर्षअघि सरकार र मुक्तिनाथ दर्शन प्रालिबीच भएको समझदारीमा ३९ अर्ब २० करोड लागत अनुमान गरिएको थियो ।
तात्कालीन प्रधानमन्त्री केपी ओलीले पोखरादेखि मुक्तिनाथसम्म नेपालकै ठूलो यस परियोजना सञ्चालनका लागि अनुमति दिएका थिए ।
त्यही बेला सरकारले मुक्तिनाथ दर्शन प्रालिलाई डिपीआर र वातावरणीय प्रभाव मूल्यांकन ( इआईए) का लागि जिम्मेवारी दिएका थिए ।
तर, कानूनी समस्या भएका कारण काममा ढिलाइ भएको सो कम्पनीका अध्यक्ष सुवेदीले बताए ।
उनले कानुनी जटिलता र कार्यविधिको अभावमा वन तथा वातावरण मन्त्रालयले सहमति नदिँदा इआईएको प्रक्रिया रोकिएकोमा अब निर्माणका लागि बाटो खुल्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष सुवेदीले यसअघि नै पेस गरिएका दस्ताबेजहरू कानुनी जटिलताका कारण पास हुन नसकेपछि लगानी बोर्डमा पुनः दुवै दस्ताबेज पेस गरिएको बताए ।
भारतको के एण्ड आर इन्जिनियरिङ लिमिटेडले केबलकार परियोजना निर्माणका साथै लगानीसमेत गर्ने गरी इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी ( ईपीसीएफ) मोडलमा केबलकार बनाउने भएको हो ।
मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष सुवेदी भौगोलिक जटिलताका कारण सर्वेक्षणमा समस्या भएकाले परियोजनाको सर्वेक्षणमै ४० करोड रुपैयाँ खर्च भइसकेको दाबी गर्छन् ।
नेपालमा कहाँ कसरी चलेका छन् केबलकार ?
नेपालमा सर्वप्रथम २०५५ सालमा मनकामना केबलकार सञ्चालनमा आएको थियो । उक्त केबलकारको उद्घाटन २०५५ साल मंसिर ८ गते तात्कालीन युवराज दीपेन्द्र शाहले गरेका थिए ।
मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आएको यो केवलकारमा अहिले ३४ वटा ( डब्बा) गोण्डला सञ्चालनमा छन् ।
चितवनको कुरिनटारबाट गोरखाको मनकामनासम्म चल्ने यो केवलकारले नेपालको प्रख्यात मन्दिर मनकामनाको दर्शनलाई सहज बनाएको छ ।
यसको लम्बाई ३।०२ किलोमिटर रहेको छ । नेपालको दोस्रो केबलकार परियोजनाका रूपमा ३० मंसिर २०७३ मा चन्द्रागिरि केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आएको थियो ।
वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक प्रधानमन्त्री भएका बेला यो परियोजनाको उद्घाटन गरेका थिए।
काठमाडौंको थानकोटमा रहेको बेस स्टेशनबाट ९ देखि १४ मिनेटको यात्रापछि चन्द्रागिरि डाँडामा रहेको टप स्टेशनमा पुग्न सकिन्छ । यस केवलकारमा जम्मा ३८ वटा गोण्डला जडान गरीएका छन् ।
त्यस्तै, दोलखाको कालिञ्चोक गाउँपालिकामा सञ्चालनरत कालिन्चोक केबलकार परियोजना नेपालको तेस्रो केबलकार परियोजना हो ।
१७ कात्तिक २०७५ देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको यो परियोजनाको तात्कालीन प्रधानमन्त्री केपी ओलीले २०७८ सालमा औपचारिक उद्घाटन गरेका हुन् । यसमा ४ गोण्डला मात्र रहेका छन् ।
त्यस्तैगरी, २०७८ फागुनबाट व्यावसायिक रूपमा सञ्चालनमा आएको अन्नपूर्ण केबलकार नेपालको चौथो केबलकार परियोजना हो ।
कास्कीको पोखरा महानगरपालिका–१८ स्थित सेदीबाट सराङकोटसम्म यो केबलकार सञ्चालनमा रहेको छ । यसको लम्बाई २.१६ किलोमिटर रहेको छ ।
नेपालको पाँचौं केबलकार परियोजनाका रूपमा मौलाकाली केबलकार सञ्चालनमा आएको हो ।
केबलकार गत वैशाख १८ गते प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन् । १२ सय मिटर लामो यो केवलकारमा १४ वटा गोण्डला छन् ।