काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडीहरूको अक्सन यही साउन २४ गते हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक विज्ञप्ति जारी गर्दै अक्सनको मितिबारे जानकारी दिएको हो ।
क्यानका प्रवक्ता छुम्बी लामाले फ्रेन्चाइज टिमले रिलिज गरेका र अन्य खेलाडी गरी ४५८ जना खेलाडीले क्यानमा नाम दर्ता गराएको जानकारी दिए ।
क्यानले यही साउन ६ गतेसम्म खेलाडी दर्ताको समय दिएको थियो ।
क्यानले अब ती ४५८ को नाम फ्रेन्चाइज टिमलाई दिने र मापदण्ड निर्धारण गरी त्यसमा पर्ने खेलाडी तथा फ्रेन्चाइज टिमले इच्छाएका खेलाडीलाई अक्सन सूचीमा राखिने जनाएको छ ।
एनपीएलमा ८ वटा टिम छन् । ती आठवटा टिमले पहिलो सिजनमा खेलेका मार्की खेलाडी र अन्य केही खेलाडीलाई टिममा यथावत राखेका छन् ।
अब टिम पूरा गर्न अक्सनमार्फत खेलाडीलाई अनुबन्धन गर्नेछन् ।