काठमाण्डू, अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले छैटौँ तथा अन्तिम खेलमा पाकिस्तान साहिन्सको सामना गर्ने तालिका छ ।
यी दुई टिमबीचको खेल शुक्रबार अपरान्ह ३ः१५ देखि शुरु हुनेछ ।
यस प्रतियोगितामा नेपाल तेस्रो जितको खोजीमा छ । सुरुवातमा लगातार तीन खेलमा हार बेहोरेको नेपाल तेस्रो जीत नजिक पुगेको हो ।
नेपालले प्रतियोगिताको सुरुवातमा एन्टी स्ट्राइकविरुद्ध ४२ रनको हार बेहोर्यो ।
दोस्रो र तेस्रो खेलमा नेपाल क्रमशः बंगलादेश ‘ए’ सँग ३२ रन तथा मेलबर्न स्टाटर्सविरुद्ध ३१ रनले पराजित भयो ।

चौथो र पाँचौं म्याचमा भने नेपालले उत्कृष्ट कमब्याक गर्दै लगातार जित हासिल गर्यो ।
चौथो खेलमा नेपालले उत्कृष्ट ब्याटिङ गर्दै होबार्ट हरिकेन्सलाई ६६ रनले हरायो । त्यस खेलमा नेपालले १ सय ८० रन बनायो ।
होबार्टविरुद्ध नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गर्यो । उक्त म्याचमा नेपालले होबार्टलाई १६।१ ओभरमै १ सय १४ रनमै समेट्यो ।
होबार्टलाई सस्तैमा अलआउट गर्नेक्रममा फास्ट बलर नन्दन यादवले घातक बलिङ गरे । उनले तीन ओभरमा १७ रन दिएर ५ विकेट लिए ।
नेपालले पाँचौं खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्यो । मेलबर्न रेनेगेड्सविरुद्धको उक्त म्याचमा नेपालले पहिला ब्याटिङ गर्दै १ सय ३९ रन बनायो ।

लक्ष्य बलियो दिन नसके पनि नेपालले उत्कृष्ट बलिङ गर्दै रेनेगेड्सलाई १ सय ६ रनमै अलआउट गर्यो । र, उक्त म्याचमा नेपाल ३३ रनले विजयी भयो ।
रेनेगेड्सविरुद्ध सोमपाल कामीले सानदार बलिङ गरे । उनले चार ओभरमा १७ रन मात्र दिएर सर्वाधिक ५ विकेट लिए ।
नेपाल अब पाकिस्तान साहिन्सविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गरेर प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।
उता पाकिस्तानको टोली नेपाललाई हराएर तालिकाको शीर्ष स्थानमा उक्लिने दाउमा छ ।
अहिले दोस्रो स्थानमा रहेको उसले पाँच म्याच खेल्दासम्म तीनमा जीत र दुई खेलमा हार बेहोरेको छ ।

पाकिस्तानले जारी प्रतियोगितामा सन्तुलित प्रदर्शन गरिरहेको छ । उसका लागि ब्याटर अब्दुल समद र बलर फैसल अक्रमले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
अब्दुलले ५ खेलमा १६३ को उत्कृष्ट स्ट्राइक रेटमा १९५ रन बनाएका छन्, त्यसक्रममा उनले एक शतक र एक अर्धशतकीय पारी खेलेका छन् ।
यस्तै, अक्रमले ५ खेलमा ५.३८ को राम्रो इकोनमीमा १२ विकेट लिएका छन् ।
यता नेपालको टिममा बलिङमा सन्दीप लामिछाने, सोमपाल कामी र नन्दन यादवले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
सन्दीपले ८ तथा सोमपाल र नन्दनले ६र६ विकेट लिएका छन् । ब्याटिङमा भने नेपाली खेलाडीले चित्तबुझ्दो प्रदर्शन गरिरहेका छैनन् ।
यदि पाकिस्तानविरुद्ध जीत निकाल्ने हो भने नेपालले अलराउन्ड प्रदर्शन गर्नुपर्नेछ ।