काठमाण्डू, नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ ।
नेपालले चारपटकको विश्वकप विजेता बलियो टेस्ट राष्ट्र वेस्ट इन्डिजलाई हराउँदै यस्तो उपलब्धि हासिल गरेको हो ।
ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शनिबार राति सम्पन्न पहिलो खेलमा नेपालले प्रभावशाली प्रतिद्वन्द्वी वेस्ट इन्डिजलाई १९ रनले हराएको हो ।
जितसँगै नेपाली टोलीले तीन खेलको शृंखलामा १–० को अग्रता हासिल गरेको छ ।
नेपाली टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक टेस्ट राष्ट्रलाई हराएको हो ।
नेपालले कुनै पनि टेस्ट राष्ट्रसँग खेलेको यो पहिलो द्विपक्षीय अन्तर्राष्ट्रिय शृंखला पनि हो ।
वेस्ट इन्डिजले हालसम्म दुईपटक आईसीसी टी–२० विश्वकप र दुईपटक एकदिवसीय विश्वकप जितेको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा खेलिएको खेलमा टस हारी पहिले ब्याटिङको निर्णय पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ४८ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको वेस्ट इन्डिजले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय २९ रनमात्र बनाउन सक्यो ।
क्यारेबियन टोलीलाई लक्ष्यसम्म पुग्न नदिन नेपाली टोलीका बलर कुशल भुर्तेलले दुई विकेट लिए ।
नन्दन यादव, ललित राजवंशी, रोहित पौडेल, करण केसी र दीपेन्द्रसिंह ऐरीले पनि एक–एक विकेट हात पारे । वेस्ट इन्डिजका दुई ब्याट्सम्यान रन आउट भएका थिए ।
वेस्ट इन्डिजका लागि नविन विडाइसले सर्वाधिक २२ रन बनाए । उनी हिट विकेट हुँदै पेभेलियन फर्किएका थिए ।
ओपनर अमिर जांगुले १९ रन बटुले । कप्तान अकिल होसैनले १८ रन जोडे । केसी कार्टीले पनि १६ रन बनाए ।
अकिम अगस्टेले टोलीको खातामा १५ रन थपे ।
त्यसअघि, दुबै ओपनरलाई सस्तैमा गुमाएपछि कप्तान रोहित पौडेल र कुशल मल्लले नेपालको पालीलाई सम्हालेका थिए । ओपनर कुशल भुर्तेल ११ बलमा एक चौकाको मद्दतले ६ रन बनाउँदै आउट भएका थिए ।
तेस्रो ओभरको पहिलो बलमा कुशल भुर्तेल आउट हुँदा नेपालले केवल आठ रन बनाएको थियो । वेस्ट इन्डिजविरुद्धको जारी शृंखलामा पहिलो रन बटुल्ने खेलाडी पनि उनी नै हुन् ।
नेपालले दोस्रो विकेटका रूपमा अर्का ओपनर आसिफ शेखलाई गुमाएको थियो । उनी चार बलमा तीन रन बनाउँदै पेभेलियन फर्किए । चौथो ओभरको पहिलो बलमा आसिफ आउट हुँदा नेपाली टोलीको कुल स्कोर केवल १२ रन थियो ।
त्यसपछि तेस्रो नम्बरका ब्याट्सम्यान रोहित र कुशल मल्लले ५८ रनको उत्कृष्ट साझेदारी गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका कुशल मल्ल ३० रन बनाउँदै आउट भए ।
आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल २१ बलमा दुई छक्का र दुई चौका प्रहार गरे । ११ औं ओभरको चौथो बलमा कुशल मल्ल आउट हुँदा नेपालले ७० रन बनाइसकेको थियो ।
त्यसपछि कप्तान रोहितले पाँचौं नम्बरमा क्रिज समाल्न आएका गुलसन झासँग १९ रनको साझेदारी गरेका थिए । रोहित पौडेल ३८ रन बनाउँदै आउट भएपछि यो साझेदारी टुट्यो ।
कप्तान रोहितले यसबीचमा केवल ३५ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काएका थिए । १३ औं ओभरको चौथो बलमा रोहित आउट हुँदा नेपालले ८९ रन बनाएको थियो ।
गुलसन झाले पनि टोलीको खातामा २२ रन थपे । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल १६ बलको सामना गरी दुई छक्का पनि प्रहार गरे ।
छैटौं नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए । उनले १९ बलमा एक छक्का प्रहार गरे । सन्दीप जोरा ६ बलमा एक छक्काको मद्दतले नौ रन बनाउँदै पेभेलियन फर्किए ।
करण केसी खाता खोल्नुअघि नै पेभेलियन फर्किए भने सोमपाल कामी ६ र नन्दन यादव सात रनमा अविजित रहे । नन्दनले दुई बलमा एक छक्का पनि प्रहार गरे । नेपालले अतिरिक्त रूपमा पनि १० रन पाएको थियो ।
क्यारेबियन टोलीका अनुभवी बलर जेसन होल्डरले चार विकेट लिए । उनले चार ओभरमा २० रन खर्चिएका थिए । नविन बिडाइसले पनि तीन विकेट हात पारे ।
उनले चार ओभरमा २९ रन खर्चिएका थिए । २५ वर्षीय नविन बिडाइसले नेपालविरुद्धको यही खेलमार्फत् अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका हुन् । अकेल होसैनले पनि एक विकेट कुम्ल्याए । नेपाली टोलीको पहिलो विकेट नै कप्तान अकेल होसैनले लिएका थिए ।
तेस्रोपटक टी–२० पुरुष विश्वकप खेल्ने अभियानमा रहेकाले पनि नेपाली टोलीका लागि यो शृंखला अझ विशेष छ । दुईपटक टी–२० विश्वकप र दुईपटक एकदिवसीय विश्वकपको जितिसकेको वेस्ट इन्डिजसँगको यो शृंखलाले नेपालको विश्वकप छनोट अभियानमा थप सहयोग पुर्याउने छ ।
नेपाली टोलीले सन् २०२६ मा आयोजना हुने आईसीसी टी–२० विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिता केही समयपछि नै खेल्दैछ । नेपाल र वेस्ट इन्डिजविरुद्धको शृंखलाको दोस्रो खेल असोज १३ र तेस्रो खेल १४ गते खेलिने छ ।