काठमाण्डू, भारतले एसिया कप क्रिकेट २०२५ को उपाधि जितेको छ ।
आइतबार दुबईमा भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले नवौंपटक उपाधि जितेको हो ।
पाकिस्तानले दिएको १४७ रनको लक्ष्य भारतले २ बल बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो ।
अन्तिम ओभरमा १० रन आवश्यक रहँदा तिलकले एक चौका र ३ रन तथा रिंकु सिंहले एक विजयी चौका प्रहार गरे ।
तिलक वर्माले सर्वाधिक अविजित ६९ रनको म्याच विनिङ पारी खेले । शिवम दुबेले ३३ रन बनाए । सन्जु सामसनले २४ रन बनाए ।
सुरुवात राम्रो नभएपनि भारतका लागि तिलक वर्माले सन्जु सामसन र त्यसपछि शिवम दुबेसँग मिलेर साझेदारी बनाएका थिए ।
भारत २०-३ को कठिन अवस्थामा हुँदादेखि तिलकले सामसनसँग ५७ र शिवमसँग ६० रनको साझेदारी गरे ।
पाकिस्तानका फहीम अशरफले ३ तथा अबरार अहमद र शाहीन अफ्रिदीले १/१ विकेट लिए ।
यता टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले १९.१ ओभरमा अलआउट हुँदै १४६ रन बनाएको थियो ।
शुरुवात राम्रो गरेको भएपनि पाकिस्तान नाटकीय रूपमा विकेट पतन भएको थियो ।

एक समय १३औं ओभरमा ११३-१ को अवस्थामा भएपनि थप ३३ रन जोड्दा बाँकी सबै विकेट गुमाएको थियो ।
पाकिस्तानका लागि ओपनर शाहिबजादा फरहानले सर्वाधिक ५७ रन बनाए । फखार जमानले ४६ रन बनाए ।
सायम अयुबले १४ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका कुलदीप यादवले ४ ओभरमा ३० रन दिएर ४ विकेट लिए । जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले २/२ विकेट लिए ।
यसअघि पाकिस्तानविरुद्ध समूह चरण र सुपर फोरमा भएको खेलमा पनि भारतले जीत निकालेको थियो ।