Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रामजानकी विवाह महोत्सव शुरु भएसँगै महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी

- shuvadmin / आइतबार, मङि्सर ०८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जनकपुर, मधेशको प्राचीन मिथिला क्षेत्रमा मनाइने साताव्यापी रामजानकी विवाह महोत्सव शुरु भएसँगै महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी थालिएको छ।

जनकपुरधाममा साताव्यापी महोत्सव बिहीबार शुरु भएसँगै विवाहपञ्चमीको एक दिनअघि गरिने ‘मटकोर’ विधिको तयारी मटिहानीस्थित लक्ष्मीनारायण मठले थालेको हो।

यसपालि मङ्सिर शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी आउने मङ्गलबार परेको छ भने ‘मटकोर’ एक दिन पहिले सोमबार सम्पन्न गरिनेछ।

सातदिने महोत्सवमा नगर दर्शन, फूलबारी लीला र धनुषयज्ञ क्रमशः बिहीबार, शुक्रबार र शनिबार सम्पन्न भएका छन्।

मटिहानीस्थित लक्ष्मीनारायण मठ मुलुककै नायक मठ मानिन्छ । त्रेतायुगमा अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम श्रीराम र मिथिला नरेश जनककी पुत्री सीताको विवाह जनकपुरमा गरिँदा यज्ञवेदी बनाउन मटिहानीबाट माटो खनिएको विश्वास गरिन्छ ।

यसै विश्वासले मटिहानीमा विवाहको एक दिन पहिले गरिने ‘मटकोर’ उत्सव मनाइँदै आइएको लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा.रवीन्द्रदास वैष्णव बताउछन्।

‘मटिहानीमा रामजानकी विवाह महोत्सवको ‘मटकोर’ उत्सव मनाइने चलन छ, यसअनुसार हामी त्यसको तयारीमा छौँ’, डा.वैष्णव भन्छन्, ‘यसमा मटिहानी नगरवासी र नेपाल–भारतका सन्तहरू सम्मिलित हुँदै आएका छन्।’

मटकोर विधिमा विवाहको एक दिनपूर्व पवित्र ठाउँको माटो खनेर वेदी, मण्डप, घडा, चुल्हो र देवीदेवताका प्रतिमा लेपन गरिने चलन छ ।

माटो खन्न जाँदा बाजागाजासहित महिला जाने गर्छन् । यसरी माटो खन्न जाने बेला महिलाले धानको भुस, चामल, बेसार, दही, फूल, पानको पात, सुपारी र अक्षतासहितका पूजा सामग्रीले भूमि पूजन गर्ने चलन छ।

भूमि पूजनको भाव भने पृथ्वीसँग माटो खन्ने अनुमतिका लागिको प्रार्थना भएको राजकीय संस्कृत मावि मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउँछन् ।

यसरी खनेर ल्याइएको माटोले विवाह मण्डप, वेदी, चुल्हो बनाउनसँगै देवदेवीस्थल लिपपोत गरिन्छ ।

मिथिलामा यी सबै विधिमा माङ्गलिक गीत गाइन्छन् । त्रेतायुगमा श्रीराम र सीताजीको विवाहमा हालको मटिहानी–७ स्थित लक्ष्मीसागर तलाउबाट यज्ञवेदी बनाइन माटो खनिएको विश्वास गरिन्छ।

मटिहानीमा ‘मटकोर’ उत्सवसँगै विवाह उत्सवमा सरिक हुन आउने भारतीय साधुसन्तको स्वागत, भोजन र आवास प्रबन्ध गरिन्छ ।

यहाँ भोलिपल्टको जनकपुरमा सम्पन्न हुने विवाह महोत्सवमा सरिक हुन भारतका विभिन्न प्रान्तबाट आउने साधुसन्त मटिहानी बस्ने पुरानो चलन छ।

श्रीराम र सीताका बीच विवाह भएको सम्झनामा मनाइने यो महोत्सवमा पहिलो दिन ‘नगर दर्शन’ उत्सवको परम्परा छ ।

यो उत्सव श्रीराम, गुरु विश्वामित्र र भाइ लक्ष्मणका साथ जनकपुर आइपुगेको सम्झनामा मनाइने गरिएको हो ।

यस दिन श्रीराम र लक्ष्मणले राजा जनकको दरबार परिसर र जनकपुर नगर अवलोकन गर्नुभएको सम्झनामा प्रतीकात्मक रूपमा मनाइन्छ ।

यस क्रममा श्रीराम, लक्ष्मण र गुरु विश्वामित्रको भूमिकामा सजिएका पात्रहरूलाई राजा जनकका भारदारहरूले नगरको अवलोकन गराउँछन्।

महोत्सव सुरु भएसँगै सम्पूर्ण मिथिलाक्षेत्र उत्सवमय बन्दछ । खासगरी अयोध्या र भारतका विभिन्न प्रान्तबाट आउने साधुसन्तको नेपाल प्रवेशद्वार महोत्तरीको जलेश्वरको भिठ्ठामोर र मटिहानी हुने हुँदा यहाँ यसको तयारी विशेष रूपमा गरिन्छ ।

भारततिरबाट महोत्सवका लागि साधुसन्त आउने क्रम मङ्सिर शुक्लपक्षको प्रारम्भसँगै शुरु भएपनि अधिकांश विवाहपञ्चमीको एक दिनअघि आउने चलन छ।

भारतबाट आउने साधुसन्त विवाहको एक दिनअघि मटिहानी बास बसेर भोलिपल्ट अर्थात् विवाहपञ्चमीका दिन जलेश्वरस्थित जलेश्वरनाथ महादेवको दर्शन गर्दै महोत्तरीकै पिपरामा दिवा भोजन र केहीबेरको विश्राम गरेर जनकपुर रङ्गभूमिमा आयोजना हुने स्वयम्वर र रामजानकी विवाहमण्डपमा आयोजना हुने विवाह महोत्सवमा सरिक हुन पुग्ने गर्छन्।

रामजानकी विवाहको साताव्यापी महोत्सवमा पहिलो दिन जनकपुरमा नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तीलकोत्सव, पाँचौँ दिन मटकोर, छैटौँ दिन स्वयम्वर तथा विवाह र अन्तिम सातौँ दिन रामकलेवा विधिको परम्परा छ।

यी उत्सवको पहिलो दिन नगर दर्शनमा श्रीराम, लक्ष्मण र गुरु विश्वामित्र जनकपुर आइपुग्नु भएर उनीहरूलाई नगर अवलोकन गराइएको, दोस्रो दिन फूलबारी लीलामा सीताजी फूल टिप्न सखीहरूका साथ फूलबारी पुग्दा श्रीरामसँग आमनेसामने देखादेख भएको, तेस्रो दिन धनुष यज्ञमा श्रीरामले शिवजीको धनुष भङ्ग गर्नुभएको, चौथो दिन श्रीरामले धनुष भाँचेपछि सीतासँग विवाहको टुङ्गो गरेर अठोट लागेपछि कन्यापक्षले वरपूजन गर्ने परम्पराको तीलकोत्सव प्रतीकात्मक रूपमा मनाइन्छ।

त्यसैगरी, पाँचौँ दिनको स्वयम्वर तथा विवाहमा रङ्गभूमि मैदानमा स्वयम्वर र विवाह मण्डपमा विवाह विधि र सातौँ दिन अयोध्याका जन्ती बिदाइको ‘रामकलेवा’ विधि प्रतीकात्मक रूपमा सम्पन्न गरिन्छन्।

रामजानकी विवाह महोत्सवको मेला हेर्न सम्पूर्ण मिथिलाक्षेत्रमै केही दिन पहिलेदेखि तयारी गरिन्छ ।

यो सांस्कृतिक महोत्सव मिथिलाको विशिष्ट परम्परा रहेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस)का प्राचार्य हेमनारायण कर्ण बताउछन्।

रासस

Page Views: 25
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama