काठमाण्डू, नेपालको पूर्वीदेखि पश्चिमी नाकासम्म व्यापार क्षेत्र विस्तार गर्न निर्माण गर्ने भनिएको नयाँ मोडालीटीको सुक्खा बन्दरगाहको काम अध्ययनमै सीमित भएको छ ।
पूर्वी पहाडी जिल्ला ताप्लेजुङदेखि पश्चिम कर्णालीको हुम्लामा निर्माण गर्ने भनिएको सुक्खा बन्दरगाहको काम अध्ययनमै सीमित बनेको हो ।
दुई देशबीच आयात–निर्यात सहज र व्यवस्थित बनाउन सरकारले एकीकृत भन्सार जाँच चौकी अर्थात् सुक्खा बन्दरगाह निर्माणको योजना अघि सारेको थियो ।
नेपालमा सुक्खा बन्दरगाहको निर्माण, सञ्चालन तथा व्यवस्थापन नेपाल इन्टरमोडल यातायात विकास समितिले गर्दै आइरहेको छ ।
अहिलेसम्म नेपालमा ८ वटा बन्दरगाहहरू सञ्चालनमा छन् ।
यसबाहेक रसुवामा निमार्णाधीन बन्दरगाह बाढी पहिरोका कारण अलपत्र परेको छ, अर्को सुदूरपश्चिमको कञ्चनपुरमा दोधरा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको काम शुरू गरिएको छ ।
तर, हाल सञ्चालनमा रहेका बन्दरगाह र निर्माण भइरहेका बन्दरगाहबाहेक मुस्ताङको नेचुङ अर्थात् कोरोला, हुम्लाको यारी, ताप्लेजुङको ओलाङचुङगोला, सङ्खुवासभाको किमाथांका र महोत्तरीको जलेश्वरमा बन्दरगाह निर्माण अध्ययनमै सीमित भएका हुन् ।
सरकारले तेस्रो मुलुकसम्मको पहुँचलाई सहज बनाई अन्तर्राष्ट्रिय व्यापार रणनीति र व्यापार घाटा न्यूनीकरण गर्न सुक्खा बन्दरगाह निर्माणको काम शुरू गरिएको हो ।
जसअन्तर्गत अहिले नेपालका ठूला नाकामा बन्दरगाह सञ्चालन सफल भैसकेका छन् । यही सफल मोडालीटीलाई देशका प्रमुख नाकाहरूमा बन्दरगाह निर्माण गरिन लागेको हो ।
बन्दरगाह निर्माण गर्न ५ वर्षअघि नै अध्ययन भएको थियो । कतिपय २०७९ सालमा अध्ययन भए ।
अहिलेसम्म बन्दरगाह निर्माणका लागि ६ ठाउँमा अध्ययन भइसकेको छ । तर, अध्ययनपछि निर्माणका लागि प्रक्रिया भने अगाडि बढ्न सकेको छैन ।
अध्ययन भइसकेका बन्दरगाहहरूको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)को काम पनि भएको छैन ।
अहिलेसम्म कोरला, जलेश्वर, यारी, ओलाङचुंगोला र किमाङ्थाङ्काको अध्ययन सम्पन्न भइसकेको र थप छलफल भइरहेको समितिका कार्यकारी निर्देश शाशिष गजुरेलले बताउँछन् ।
‘अहिलेसम्मको अवस्था नयाँ बन्दरगाहका लागि प्रारम्भिक अध्ययन भइसकेको छ ।
थप अध्ययनका लागि छलफलमा छ,’ उनले भने, ‘निर्माणका लागि माथिल्लो निकायबाटै नीतिगत रूपमा निर्णय हुनुपर्छ ।
हामी पनि थप प्रक्रिया अगाडि बढाइरहेकै छौं ।’
ओलाङचुंगोलामा सुक्खा बन्दरगाह
पूवी महाडी जिल्ला ताप्लेजुङको ओलाङचुंगोलामा सुक्खा बन्दरगाह निर्माण गर्न दुई वर्षअघि सम्भाव्यता अध्ययन गरिएको थियो ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ मा बन्दरगाह निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन शुरू गरिएको थियो ।
नेपाल र चीनको सीमा क्षेत्र ओलाङचुंगोलाबाट करिब १० किलोमिटरको दुरीमा बन्दरगाह निर्माण गर्ने योजना छ ।
अध्ययनअनुसार यहाँ बन्दरगाह निर्माणका लागि करिब १ अर्ब ७६ करोड लागत अनुमान गरिएको छ ।
बन्दरगाह निर्माणका लागि तमोर कोरिडोर सञ्चालनमा ल्याउनुपर्ने अध्ययनले देखाएको छ ।
मुस्ताङ
उत्तरतर्फको नाका मुस्ताङको कोरलामा बन्दरगाह निर्माण गर्न २०७७ सालमा नै अध्ययन शुरू गरिएको थियो ।
मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाकामा बन्दरगाह निर्माणको लागि आर्थिक वर्ष २०७९र८० को बजेटमा पनि सम्भाव्यता अध्ययन गरिने घोषणा गरिएको थियो ।
अध्ययनअनुसार यहाँ बन्दरगाह निर्माण गर्न २ अर्ब ६० करोड जति लाग्ने अनुमान गरिएको छ ।
हुम्लाको यारीमा सुक्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन भइसकेको छ ।
२०७९ सालमा नै हुम्लानाम्खा गाउँपालिका ५ को यारीमा बन्दरगाह निर्माणका लागि अध्ययन गरिएको थियो ।
उक्तरी नाका चीनसँगको सीमा क्षेत्र यारीमा निर्माण गरिने बन्दरगाह निर्माणाधीन कर्णाली कोरिडोरसँग जोडिन्छ ।
कर्णाली प्रदेशको पहिलो व्यापारिक महत्त्व बोकेको यो बन्दरगाहले यस क्षेत्रको विकासमा कायापलट गर्ने विश्वास लिइएको छ ।
यहाँ बन्दरगाह निर्माण गर्नका लागि १।६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै ततत्कालीन अर्थमन्त्री जनार्दन शर्माले डोल्पाको तिनञ्जे धो मा बन्दरगाह निमार्णको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाइने घोषणा गरेका थिए ।
उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा बन्दरगाह निर्माणका लागि २ वर्षअघि नै अध्ययन भइसेकेको हो ।
गाउँपालिकाको ६ नम्बरमा नेपाल—चीन सीमा क्षेत्रबाट १५ किलोमिटरको दुरीमा बन्दरगाह निर्माणको अध्ययन गरिएको हो ।
यसको लागत करिब १.२ अर्ब अनुमान गरिएको छ । यहाँ बन्दरगाह निर्माणका लागि भेरी कोरिडोर सञ्चालनमा ल्याउनुपर्ने अध्ययनले देखाएको छ ।
सङ्खुवासभाको किमाथाङ्कामा बन्दरगाह निर्माणका लागि पनि अध्ययन भइसकेको छ ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका १ मा बन्दरगाह निर्माणका लागि अध्ययन भएको हो ।
नेपाल र चीनको सीमा क्षेत्रमै पर्ने यो ठाउँमा बन्दरगाह निर्माणका लागि २ अर्ब ३० करोड लाग्ने अनुमान गरिएको छ ।
यसको क्षेत्रफल २४ सय ५० मिटर रहने उल्लेख गरिएको छ ।
महोत्तरीको जलेश्वरमा बन्दरगाह
महोत्तरीको जलेश्वरमा सुक्खा बन्दरगाह बनाउन पहल गरिएको थियो ।
जलेश्वरको नाका भिठ्ठमोड भन्सार कार्यालयलाई विस्तार गर्दै बन्दरगाह निर्माण गर्न प्रक्रिया अगाडि बढाई पूर्व सम्भाव्यता अध्ययनसमेत गरिसकेको छ ।
आर्थिक वर्ष २०७९र८० को बजेटमा नै यस स्थानमा बन्दरगाहका लागि अध्ययन गरिने कुरा उल्लेख गरिएको थियो ।
यसको लागत अनुमान झन्डै ३ अर्ब लाग्ने देखिएको छ ।
निर्माणाधीन दोधरा—चाँदनी सुक्खा बन्दरगाह
सुदूरपश्चिमका ९ जिल्लाहरूमा आयात र निर्यातका लागि ठूलो व्यवसायीक भन्सार छैन ।
अहिलेसम्म ठूलो व्यवसायीक मालसामान आयात निर्यात गर्न कैलालीको धनगढीबाट भन्सारको काम हुने गर्दछ ।
तर, यो ठूलो र सुदूरपश्चिमका लागि पुग्ने र सहज भन्सार छैन । अहिले पनि नेपालगञ्ज, भैरहवा तथा अन्य ठूला नाकाहरूबाट ठूलो संख्यामा सुदूरपश्चिका जिल्लाहरूको आपूर्ति गरिँदै आएको छ ।
यस प्रदेशमा ठूलो अन्तर्राष्ट्रिय व्यापारका लागि सुक्खा बन्दरगाहको माग उठ्दै आइरहेको थियो ।
जुन अहिले कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिका १ मा एकीकृत जाँच चौकी अर्थात् सुख्खा बन्दरगाह निर्माणको काम भइरहेको छ
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गौरीशङ्कर मध्यवर्ती सामुदायिक वनको ४२.३६ हेक्टर क्षेत्रफलमा बन्दरगाह निर्माणको काम अगाडि बढेको छ ।
भारत सरकारको पूर्ण प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण भइरहेको बन्दरगाह ३ वर्षभित्र निर्माण सम्पन्न हुने चरणमा छ ।
यस बन्दरगाहको लागत करिब ५ अर्ब ७६ करोड नेपाली रुपैयाँ लाग्ने जनाइएको छ ।
अन्योलमा रसुवाको निर्माणाधीन बन्दरगाह
गत असार २४ गते रसुवामा आएको बाढी पहिरोले करिब ८१ प्रतिशत निर्माणको काम सम्पन्न भएको सुक्खा बन्दरगाह झन्डै ६ महिनादेखि ठप्प छ ।
चिनियाँले निर्माण कम्पनीले निर्माण गरिरहेको बन्दरगाह बाढी पहिरोले क्षति भएपछि पुनर्निर्माण गर्नेरनगर्ने अन्योलनमा परेको हो ।
चिनियाँ पक्षले निर्माण भइरहेकै स्थानमा बनाउन नमिल्ने बताएपछि बन्दरगाह निर्माण अलपत्र परेको हो ।