अहिले सामाजिक सञ्जाल एउटा विषयले चिसो मौसम तताइरहेको छ। आफूलाई सामाजिक अभियन्ता वा ‘राष्ट्रिय सचेत नागरिक अभियान’की मुख्य व्यक्ति या ‘लेडी सिंघम’ उपनाम पाएकी आशिका तामाङको विषयले मौसम गर्माएको हो।
अभिनेत्री तथा अभियन्ता वा आशिका फाउन्डेसनकी आशिका तामाङविरुद्ध सर्वप्रथम असोज ताका भक्तपुरको सूर्यविनायक नगरपालिकाले प्रहरीमा जाहेरी परेको थियो।
उक्त घटना सेलाउन नपाउँदै माघ २ गते दिउँसो स्वयम्भुबाट नेपाल प्रहरीले तामाङलाई पक्राउ गरेको छ। केही दिन हिरासतमा बसिसकेकी उनलाई पुनः म्याद थप गरिएको छ।
आशिकामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले पहिलोपटक ५ दिनको म्याद दिएको थियो ।
म्याद सकिए सङ्गै प्रहरीले सोमबारै उनलाई दोस्रोपटक ५ दिनका लागि म्याद थपका निम्ति जिल्ला प्रशासन कार्यालयमा पेस गरेको छ। तर यो बुझ्नु जरुरी छ कि थुन्नका लागि म्याद थपेको थप्यै गरेर समस्या समाधान हुने होइन।
आशिकाविरुद्ध प्रहरीले अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरिरहेको छ। त्यो जग जाहेर नै छ।
पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुर्व्यवहार गरेको उनीविरुद्ध आरोप होस् या सरसफाइ, उपभोक्तालाई पानीको मूल्य, विमानस्थलमा पार्किङ शुल्कलगायतका विषयमा सामाजिक सञ्जालमा भिडियो पाेस्ट गर्दै आएकी थिइन्।
उनको यो व्यवहार पहिलो पक्कै होइन। हरेक ठाउँमा उनको उपस्थितिले कतिबाट वाहीवाही पाइन् त कानुनी कठघरासम्म आउन परेको पनि अवस्था छ।
के उनको तरिका सही छ त? भन्ने मुख्य विषय हो। पक्कै पनि सही छैन तर उनको नियतमा खोट भने कहीँ पनि छैन/देखिँदैन। हो उनको तरिका, शैलीमा प्रश्न उठाउन सकिएला। तर उठाउन खोजेको विषय नाजायज भने देखिन्न।
आशिका देशको भलो चाहन्छिन्। त्यो सत्य हो। तर यस्तो भनी रहँदा उनले गरेका क्रियाकलापलाई नजरअन्दाज गर्न मिल्दैन। गल्ती हरेक ठाउँमा छ। उनले जर्मनी देखिन्। भोगिन्।
त्यहाँको जस्तो नियम कानुन खोजिन्। त्यो आफ्नो देशमा खोज्नु स्वभाविक पनि हो। तर यसलाई कसरी कुन तरिकले गर्दा ठीक हुन्छ त्यो जान्न र बुझ्न जरुरी थियो।
आशिकासँग विदेसी पासपोर्ट छ। घुम्न आइन् यहाँको वस्तुस्थिति देखिन्। केही गर्न मन लाग्यो होला। तर त्यस्तो भन्दैमा कानुनलाई हात लिनु उनको गल्ती मानिन्छ।
बोल्न पाइयो भन्दैमा जे पनि जहाँ पनि बोल्ने छुट हुँदैन। उनका कतिपय हर्कत अभद्र छन्। उनले गल्ती स्वीकार्न सक्नु पर्दछ।
उनको नियतमा खोट भने कहीँ पनि छैन/देखिँदैन। हो उनको तरिका, शैलीमा प्रश्न उठाउन सकिएला। तर उठाउन खोजेको विषय नाजायज भने देखिन्न।
अहिले उनले देशमा केही गर्छु भन्नेले उनलाई प्रहरी प्रशासनबाट नमिठो पुरस्कार स्वरुप ठूलै अपराध गरे जसो गरी अनुसन्धानको घेरामा उभिन परेको छ।
उनले क्यामेरा जडित चश्मा लगाएर भिडियो बनाउने गरेको कुरा सार्वजनिक भएसँगै प्रहरीले यसबारे थप गहिरिएर अनुसन्धान गरिरहेको भन्न थालिएको छ।
उनलाई राम्रोसँग थाहा छ के बिक्छ र चर्चित हुन्छ भन्ने। त्यस्तो ‘कन्टेन्ट’ लाई सूचना ज्ञानवर्द्धक सामग्रीभन्दा अरुलाई गाली गरेको, पिटेको, बाझाबाझ गरेको, तुच्छ बोलेको भिडियो बढी चासोका साथ सामाजिक सञ्जालमा हेरिन्छ। यही कुरा थाहा भएकैले उनलाई प्रेरित गरेको पनि हुन सक्छ।
हुन त उनलाई हिरासतमा राखिएको छ। उनको गल्ती हो तर महापराध गरे जस्तो गरी साना-साना बच्चालाई आफ्नो आमाबाट अलग्याएर राज्यसत्ताले दम्भ देखाइरहेको छ।
अब उनका ती बच्चाहरुको जिम्मेवारी कस्ले लिन्छ? यदि उनी विदेशी नागरिक भए पनि अभिभावकत्वको हिसाबले बच्चाहरुको रेखदेख गर्ने जिम्मा सरकारको हुनुपर्ने हो।
आमाको कमजोरीको सजाय किन अबोध बच्चामाथि थोपरिँदै छ त? यस विषयमा किन राज्य र अधिकारवादी निकाय मौन छ? किन प्रहरी र सरकारले बच्चाका लागि केही गर्न आवश्यक ठानेको छैन?
आशिकाले आफैँ पनि भनेकी छिन्- मेरा बच्चाहरुले नेपाली बुझ्दैनन्। अत्यन्त साना पनि छन्। मानवीय रुपले पनि उनीहरूको अवस्था विचार पुर्याइनु पर्ने थियो।
अझ उनको गल्ती ठूलो थिएन। उनको गतिविधि अराजक थिए भन्ने थाहा सबैलाई छ। त्यसमा उनले क्षमायाचना पनि गरेकी छन्।
यति भइसकेपछि प्रहरीले दैनिक प्रहरी कार्यालयमा हाजिरी गर्ने गरी आइन्दा दिनमा पुनः गल्ती नदोहोरिने हिसाबले छाड्न पनि सक्ने थियो।
तर, चाहेन। मात्र दुःख दिने र भएभरको रिस उनमाथि नै पोख्ने प्रहरीको व्यवहारले देखाएको छ।तर यो सत्य हो कि गल्ती नै हो भने जर्मन नागरिक भएकाले उनलाई नेपाल सरकारले डिपोर्ट गर्न पनि सक्ने प्रावधान छँदै छ।
एक हप्ता नाघिसके पनि प्रहरी आफैँ अन्यौलमा देखिन्छ आशिकालाई कुन विषयमा मुद्दा चलाउने भनेर। अपराध भनौँ भने त्यस्तो ठूलो केही देखिन्न।
यो अपराध नभई उनले गरेका क्रियाकलाप एउटा गलत तरिका मात्र हो। हो! उनले एउटा अभियान मार्फत देशमा भएका विकृति विसंगतिलाई चिर्न गरेको यत्न थियो। तर भइदियो शैली गलत ! उनले पनि यस्ता काम गर्ने बेला कानुनी परामर्शमा यस्ता कदम चाल्नु पर्थ्यो।
हुन त ऊनी सायद कुनै पार्टीको झोले भएको भए यहाँसम्म पुग्ने पनि थिइनन्। तामाङ यो कुरामा अडिग छिन् कि उनले यसलाई गल्ती मात्र ठानेकी छिन्, न की कुनै जघन्य अपराध नै! त्यसैले हुनु पर्छ अहिलेसम्म कुनै वकिल लगाउनेको चिन्ता छ न त आफ्नै कलिला बच्चाहरुको रेखदेख नै! उनलाई थाहा छ, एउटा सामान्य कागज बनाएर माफ मागेर पनि छाड्न सक्ने प्रावधान छ भनेर। तर भाइरल हुने नाममा आशिकाले अराजक शैली त्याग्नुपर्छ।
मानौँ उनले अपराध गरेकै हुन्। त्यसो हो भने पनि आमाको अपराधको सजाय बच्चालाई नदिइयोस्। एउटा आमासङ्ग बच्चालाई अलग गरे न्याय होइन, एउटा वैमनश्य र रिस पैदा गर्ने माध्यम हो।
आगामी दिनमा उनले योग्य सल्लाहकार राखेर सही मुद्दा उठाइ नियम कानून सम्मत लाग्नु आवश्यक छ। तर कसैसँग झगडा गर्ने, निहुँ खोज्ने, झम्टने, चिच्याउने, तोडफोड शैलीमा प्रस्तुत हुने, अरुको आत्मसम्मानलाई ठेस पुग्ने कार्य कसैलाई पनि मन पर्दैन। तसर्थ भाइरल हुने रोगले हाम्रा सामाजिक मर्यादा, कानूनी मापदण्ड, नीतिनियम र नैतिक आचरणलाई सम्मान गर्दै चटके चर्तिकलालाई चटक्कै भुलेर काम गर्नु उचित हुन्छ।