Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कोजाग्रत पूर्णिमाको अवसरमा सल्यानको प्रसिद्ध धार्मिक तथा प्राकृतिकस्थल कुमाख पहाडमा भव्य मेला

- shuvadmin / बुधबार, असोज २२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सल्यान, कोजाग्रत पूर्णिमाको अवसरमा सल्यानको प्रसिद्ध धार्मिक तथा प्राकृतिकस्थल कुमाख पहाड (लेक) मा भव्य मेला लागेको छ ।

दशैंपछिको परम्परागत रूपमा लाग्ने यो मेला जिल्लाकै ऐतिहासिक र सांस्कृतिक रूपमा ठूलो मानिन्छ ।

श्रद्धालुहरू कुमाखको टुप्पोमा अवस्थित सिद्ध मन्दिरमा विशेष पूजा–आराधना र दर्शनका लागि पुगेका छन् ।

धार्मिक आस्था र परम्परा

कुमाख पहाडको चुचुरोमा रहेको सिद्ध मन्दिरमा प्रत्येक वर्ष चतुर्दशी र कोजाग्रत पूर्णिमाका दिन विशेष पूजा र आराधना गरिन्छ ।

मन्दिरका पुजारी शेरबहादुर डाँगीका अनुसार, पहिलो पटक मन्दिर पुग्नेले सात पटक परिक्रमा गरेर वर माग्ने र मनोकामना पूरा भएपछि भेडाको बलि चढाउने परम्परा रहिआएको छ ।

कुमाखकै भित्री भागमा रहेको सिद्ध गुफा धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ ।

करिब १ सय ५० मिटर लम्बाइको उक्त गुफाभित्र ढुंगाका अनौठा आकृतिहरू र चित्रहरू रहेका छन् ।

प्रत्येक वर्ष शिवरात्रीमा यहाँ भव्य मेला र पूजा आयोजना गरिन्छ । कुमाखमा करिब एक लाख ५० हजार श्रद्धालु हरेक वर्ष मेला र दर्शनका लागि पुग्ने गरेका छन् ।

प्राकृतिक सौन्दर्य

समुन्द्री सतहदेखि करिब २ हजार ५३७ मिटर उचाइमा अवस्थित कुमाखको टुप्पोबाट रुकुम, रोल्पा, बाँके, जाजरकोटलगायत १५ जिल्लाका भू–भाग र हिमशृङ्खला स्पष्ट देख्न सकिन्छ ।

स्थानीय डिल्लीराज जैसीका अनुसार, “कुमाख प्राकृतिक ‘भ्यू टावर’ जस्तै बनेको छ, जहाँबाट हिमालदेखि तराईसम्मको दृश्य एकैसाथ अवलोकन गर्न सकिन्छ ।”

यहाँका वनजंगलमा दुर्लभ जडिबुटी, चराचुरुङ्गी, राते मृग, घोरल र चितुवा लगायतका वन्यजन्तु पाइन्छन् ।

सिद्धकुमाख गाउँपालिकाका उपाध्यक्ष रामबहादुर बस्नेतले कुमाख क्षेत्र वन्यजन्तुको सुरक्षित बासस्थान भएकाले संरक्षणमा जोड दिनुपर्ने बताए ।

संस्कृति र लोकपरम्परा

सिद्ध मन्दिरभन्दा करिब १ किलोमिटर तल जिमालीतर्फको समथर भू–भागमा कोजाग्रत पूर्णिमाको दिन जात्रा (मेला) लाग्ने गर्छ ।

मेलामा आसपासका गाउँका लोक कलाकारहरूले बनगाडी, टप्पा, सोरठी, पैसेरी, दोहोरी, सेरेङ्गेजस्ता नाच–गान प्रस्तुत गर्छन् ।

लोकसंस्कृति संरक्षण र प्रदर्शनले एकआपसमा आत्मीयता कायम हुने विश्वास गरिएको छ ।

पछिल्लो समयमा हराउँदै गएका संस्कृति पनि मेलामा हेर्न र देख्न पाइन्छ ।

साहित्यकार डा. पूर्ण भण्डारी ‘पंकज’ ले “कुमाखको मेलाले स्थानीय लोकसंस्कृति र परम्पराको संरक्षणमा ठूलो भूमिका खेलेको” बताए ।

उनका अनुसार, “दसैं र कुमाख मेलामा परदेश गएका घर फर्कने, साथी–संगीहरूको भेटघाट हुने अवसर यो मेला हो ।”

वरिष्ठ लोकगायक खर्क वुढाले कुमाख लेक र यहाँको आस्था र विश्वास संघ धेरै लोकभाकाका गीत गाइने गरेको बताए ।

उनले यस क्षेत्रमा कुमाख पहाडसँग जोडिएका गीतहरू पनि प्रसिद्ध रहेको बताए ।

“कुमाखको हाइ हाइ जाडो बर्की ताना तानी,

काँको हामी काँको तिमी भैगो चिनाजानी !!”

“माथि प¥यो कुमाख लेक तल स्यानी ज्यूला,

फूल जस्तो साइको जोबन अब मै’त लिउँला !!”

कुमाखमा पूजा–आराधना गर्न र मेला भर्नका लागि रुकुम, जाजरकोट, रोल्पा र दाङ लगायत जिल्लाबाट पनि भक्तजन आउने गर्छन् ।

मेला र स्थानीय उत्पादन

परम्परागत रूपमा लाग्दैआएका मेलाले स्थानीय बस्तु बिक्री गरी आम्दानी गर्ने माध्यम बनेका छन् ।

स्थानीय रूपमा उत्पादित केरा, बदाम, सखरखण्ड, जिलेवी लगायतका बस्तुहरू बिक्रीका लागि राखिन्छन् ।

त्यस्तै, काठे पिङ, मौलिक नाचगान र हस्तकलाका बस्तुहरूले मेला झनै आकर्षक बनेको छ ।

सिद्धकुमाख–१ का वडा अध्यक्ष रमेश चलाउनेका अनुसार, कच्ची सडक निर्माण भएर यातायात सञ्चालनमा आएपछि मेला हेर्न आउने श्रद्धालु र पर्यटकको संख्या हरेक वर्ष बढ्दै गएको छ ।

उनले भने, “पहिलेभन्दा पूजा–आराधना र मेला भर्न आउनेको संख्या दशौँ हजारले बढेको छ।”

पर्यटन सम्भावना

कुमाख गाउँपालिका–७ का अध्यक्ष डम्बर शाहीले कुमाखलाई आन्तरिक र बाह्य पर्यटनको आकर्षणका रूपमा विकास गर्न सकिने बताए ।

हाल कुमाखसम्म पुग्ने ढोरचौर–गुरुदासे–स्यानीपिपली र थारमारे–चौरपानी–ओखरबोट–गुरुदासे सडक निर्माण भइसकेका छन् ।

कर्णाली प्रदेश सरकारको १५ लाख रुपियाँ अनुदान र स्थानीयहरूको श्रमदानसहित करिब १८ लाख रुपियाँ लागतमा पदमार्ग निर्माण गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ।

डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी ललितजङ्ग खड्काका अनुसार, कर्णाली प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट विनियोजित बजेटबाट पदमार्ग, सिँढी र मन्दिरका ढोका निर्माण गरिएको छ ।

उनका अनुसार पदमार्ग निर्माणपछि भक्तजन र पर्यटकहरूको यात्रा सहज र सुरक्षित बनेको छ । चट्टान फोडेर पदमार्ग बनाइएको हुँदा अब पहिलेजस्तो जोखिम छैन ।

आस्था, सौन्दर्य संगम

कुमाख लेकमा अझै धेरै संरचना बनाउनु पर्ने आवश्यकता रहेको स्थानीयवासी नविन चलाउने बताउँछन् ।

उनका अनुसार रेलिङ, फिल्ड निर्माण, मन्दिर पुनःनिर्माणजस्ता कार्य गर्न सके भक्तजनलाई सजिलो हुनेछ ।

उनले थपे, “पूर्वाधार निर्माणसँगै प्रचार–प्रसार गर्न सकिएमा आन्तरिक मात्र होइन, बाह्य पर्यटकको संख्या समेत गुणात्मक रूपमा बढ्नेछ ।”

कुमाख धार्मिक आस्था, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यको अद्भुत संगम हो ।

मन्दिरका पुजारी शेरबहादुर डाँगीका अनुसार यहाँ पूजा वा बलि चढाएमा मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास यथावत् छ ।

स्थानीय, प्रदेश र संघीय सरकारबिच समन्वय गरी पूर्वाधार विकास, संरक्षण र प्रचार–प्रसारमा जोड दिन सकिएमा कुमाख कर्णाली प्रदेशकै प्रमुख पर्यटन गन्तव्य बन्ने सम्भावना रहेको स्थानीयवासीहरूको विश्वास छ ।

Page Views: 50
संबन्धित शिर्षकहरु
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
आज २५७०औँ बुद्ध जयन्ती
आज नेपाल र यूएई भिड्दै
ताजा अपडेट
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama