एजेन्सी, कतारको राजधानी दोहामा ५० मुस्लिम देशका नेताहरू भेला भएका छन् । यो बैठक अरब लिग र इस्लामिक सहयोग संगठन (ओआईसी)ले बोलाएको हो ।
यसको उद्देश्य सेप्टेम्बर ९ मा कतारमा इजरायली आक्रमणको जवाफ दिनु रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
इजरायली आक्रमणमा ५ हमास सदस्य र एक कतारी सुरक्षा अधिकारी मारिएका थिए ।
गाजामा दुई वर्ष लामो युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्तावमा छलफल गर्न हमासको टोली दोहामा रहेको बेला यो आक्रमण भएको थियो।
बैठकअघि, इरानका राष्ट्रपति मसूद पज्श्कियानले मुस्लिम देशहरूलाई इजरायलसँग सम्बन्ध तोड्न आग्रह गरे ।
उनले इस्लामिक देशहरूलाई एकताबद्ध हुन अपील गरे । साथै, पाकिस्तानले सबै इस्लामिक देशहरूलाई नाटोजस्तै संयुक्त सेना गठन गर्न सुझाव दिएको छ ।
पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले पनि इजरायलबारे कडा बयान दिएको समाचारमा उल्लेख छ ।
उनले इजरायलविरुद्ध बदला लिनु आवश्यक भएको र कुनै पनि देशले गाजा युद्धबाट बच्नेछ भनेर सोच्नु नहुने बताए ।
आइतबार इस्लामिक देशका विदेश मन्त्रीहरूले इजरायलविरुद्ध कारबाही गर्न दोहामा बन्द बैठक गरेका थिए ।
यस क्रममा कतारका प्रधानमन्त्री र विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले इजरायली आक्रमणको कडा निन्दा गर्दै कतारले आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न आवश्यक कदम चाल्ने बताएका थिए ।
साथै, पाकिस्तानका विदेश मन्त्री मोहम्मद इशाक दारले विश्वभरका मुस्लिमहरूले यस बैठकमा नजर राखेको बताए ।
उनले संयुक्त रक्षा बल गठनको सम्भावना उल्लेख गरे र आणविक शक्ति पाकिस्तानले इस्लामिक समुदाय (उम्म) सँग आफ्नो जिम्मेवारी पूरा गर्ने बताए ।
अरब लीग २२ अरब देशहरूको संगठन हो । यो १९४५ मा गठन भएको थियो ।
यसको उद्देश्य अरब देशहरूबीच सहयोग बढाउनु, उनीहरूको एकतालाई बलियो बनाउनु र उनीहरूको साझा हितको रक्षा गर्नु हो।
यसका साथै, ओआईसी ५७ मुस्लिम देशहरूको अन्तर्राष्ट्रिय संगठन हो, जुन १९६९ मा स्थापित भएको थियो।
यसको उद्देश्य मुस्लिम देशहरूबीच एकता प्रवर्द्धन गर्नु र उनीहरूको हितको रक्षा गर्नु हो।
सेप्टेम्बर ९ मा कतारको राजधानी दोहामा इजरायलले हमास प्रमुख खलील अल(हयामाथि आक्रमण गरेको थियो ।
मिडिया रिपोर्टका अनुसार, अल(हया आक्रमणबाट बाँचे, जबकि अन्य ६ जनाको मृत्यु भयो ।
यसपछि इजरायली प्रधानमन्त्री नेतान्याहूले पनि इजरायलले यस आक्रमणको ुपूर्ण जिम्मेवारीु लिने बताए ।
हमास नेताहरू आपसमा अमेरिकी युद्धविराम प्रस्तावबारे छलफल गरिरहेका बेला यो आक्रमण भएको थियो।
आक्रमणपछि कतारले इजरायलको कडा आलोचना गरेको थियो ।
इजरायली राजदूत ड्यानी डानोनले शुक्रबार संयुक्त राष्ट्र महासभामा कतारमा हमास नेताहरूमाथि इजरायली आक्रमणको बचाउ गरे ।
उनले इजरायलले सेप्टेम्बर ९ मा दोहामा सटीक आक्रमण गरेको बताए । उनका अनुसार यो आक्रमण वर्षौंदेखि इजरायलविरुद्ध आक्रमणको योजना बनाइरहेका हमास नेताहरूलाई लक्षित गरी गरिएको थियो ।