एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरमा दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् ।
एसिया प्रशान्त आर्थिक सहयोग (अपेक) का वाणिज्य मन्त्रीहरूको सम्मेलनमा सहभागी हुन ट्रम्प दक्षिण कोरिया जाने तय भएको सीएनएनले जनाएको छ ।
उक्त सम्मेलन अक्टोबरको अन्त्य र नोभेम्बरको सुरुबीच ग्योङ्गजु शहरमा हुने तय भएको बताइएको छ ।
उक्त सम्मेलनलाई ट्रम्पका लागि चिनियाँ नेता सी जिनपिङसँग भेट गर्न महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
अपेकको साइडलाइनमा दुई पक्षीय बैठकबारे गम्भीर छलफल भइरहेको अधिकारीहरूले उल्लेख गरेको सीएनएनले जनाएको छ । यद्यपि, त्यसबारे अहिलेसम्म कुनै योजना बनेको छैन ।
गत महिना फोन वार्ताका क्रममा सीले ट्रम्प र उनको पत्नीलाई चीन भ्रमणको निम्तो दिएका थिए, जुन निमन्त्रणाबारे थप कुरा अगाडि बढेको छैन ।
ट्रम्पले उक्त भ्रमणका क्रममा अन्य देशहरूलाई पनि समेट्न सक्ने सम्भावना रहेको अधिकारीहरूले जनाएका छन् ।
यस भ्रमणलाई अमेरिकामा थप आर्थिक लगानी ल्याउने अवसरका रुपमा लिइएको छ । जुन कुरा हालै साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्सको यात्रामा पनि ट्रम्पले जोड दिएका थिए ।
उक्त भ्रमणको क्रममा ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग पनि भेटवार्ता गर्न सक्ने सम्भावना रहेको समाचारमा उल्लेख छ ।
तर, किम उपस्थितिरबारे अहिलेसम्म कुनै टुंगो लागेको छैन ।
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ्गले गत हप्ता ट्रम्पसँग भेट हुँदा अपेक सम्मेलनमा सहभागी हुन निमन्त्रणा दिएका थिए र त्यहाँ किमसँग भेटको अवसर पनि मिल्न सक्ने सुझाव दिएका थिए ।
अपेक २१ सदस्य राष्ट्रहरुको क्षेत्रीय आर्थिक मञ्च हो।