एजेन्सी, संयुक्त राष्ट्र संघको महासभामा विश्व नेताहरूले युद्धविरामको आग्रह गरेको केही घण्टामै इजरायलले आक्रमण तीव्र पार्दा बुधबार मात्र गाजामा कम्तीमा ८५ जना प्यालेस्टाइनी मारिएका छन्।
नुसैरात शरणार्थी शिविरमा विस्थापित परिवारलाई आश्रय दिइएको एक खेल मैदानमा गरिएको आक्रमणमा सात जना महिला र दुई बच्चासहित १२ जनाको मृत्यु भएको छ ।
विस्थापितलाई राखिएको अल–अह्ली स्टेडियम बुधबार फेरि एक नरसंहारस्थल बनेको छ ।
‘मेरो हातमा जे थियो, त्यही लिएर बाहिर निस्केँ, अरू केही बाँकी रहेन । हामी डराएको छौं, यातायात महँगो छ, सामान लैजान सक्ने अवस्था छैन,’ गाजा सिटीकी विस्थापित नज्वाले अल जजिरालाई भनेकी छन् ।
संयुक्त राष्ट्र संघले चेतावनी दिँदै भनेको छ कि इजरायली सेनाले गाजा सिटीका बासिन्दामाथि त्रास फैलाउने अभियान चलाइरहेको छ र लाखौं मानिसलाई दक्षिणतर्फ भाग्न बाध्य पारिरहेको छ ।
तर, इजरायली सेनाका प्रमुख आइयाल जामिरले भने, जनताको सुरक्षाका लागि दक्षिणतर्फ धकेलिएको दाबी गरे ।
संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरूले त्यो दाबी अस्वीकार गरेका छन् ।
यसै साताको छानबिन प्रतिवेदनमा इजरायलको कार्यनीति गाजामा स्थायी नियन्त्रण कायम गर्न र पश्चिम किनारा तथा इजरायलभित्र यहुदी बहुमत सुनिश्चित गर्न केन्द्रित रहेको उल्लेख गरिएको छ ।